९ कक्षामा पढ्ने १४ वर्षीय किशोरले गरेका थिए दिपाश्री निरौला र अन्य कलाकारको फेसबुक ह्याक

 
केही समयअघि फिल्मक्षेत्रका कलाकारहरुको फेसबुक ह्याक भयो । कलाकार तथा निर्मात्री दिपाश्री निरौला, नायक तथा निर्माता सरोज खनाल लगायतका कलाकारहरुको फेसबुक ह्याक गरी उनीहरुका साथीमार्फत् रकम माग गरिएको थियो ।


आफ्नो फेसबुक ह्याक भएपछि दिपाश्री निरौला लगायतका केही कलाकारले सार्वजनिक रुपमै आफ्नो फेसबुक ह्याक गरेर कसैले पैसा मागिरहेको भन्दै कसैलाई पनि पैसा नपठाउन आग्रह गरेका थिए । दिपाश्री निरौलाले त प्रहरीको साइबर ब्यूरोमा उजुरीसमेत दिएकी थिइन् ।


कलाकारको फेसबुक ह्याक गर्ने ह्याकरको खोजी गर्ने क्रममा प्रहरीको साइबर ब्यूरोले मंगलबार पर्साबाट १४ वर्षीय किशोरलाई पक्राउ गर्यो । साइबर ब्यूरोका प्रवक्ता एसएसपी नविन्द अर्यालका अनुसार मंगलबार पक्राउ गरिएका किशोरले आफ्नो अपराध स्वीकार गरेका छन् । उनलाई काठमाडौँ ल्याइने तयारी भइरहेको छ ।


ह्याकर ९ कक्षामा पढ्ने १४ वर्षीय किशोर

प्रहरीका अनुसार कलाकारहरुको फेसबुक ह्याक गर्ने ह्याकर स्थानीय विद्यालयमा कक्षा ९ मा अध्ययनरत १४ वर्षीय किशोर रहेका छन् । कम्प्युटर र इन्टरनेटमा चाख राख्ने परिवर्तित नाम बहुदरमाई भएका किशोरले फिसिङ लिंक पठाएर कलाकारको फेसबुक ह्याक गरेका थिए । पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर ५ का १४ वर्षीय किशोरलाई जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी लिइ पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

के हो फिसिङ लिंक ?

इन्टरनेटमा फिसिङ लिंकको प्रयोग गरेर साइबर अट्याक गर्ने गरिएको छ । जसका लागि उस्तै अर्को पेज बनाउने, त्यही पेजको लिंक सामाजिक सञ्जाल वा इमेलमा पठाउने र युजरलाई लग इन गर्न लगाउने । अनि जब युजरले आफ्नो युजरनेम र पासवर्ड त्यहाँ हाल्छन्, त्यसलगत्तै उक्त तथ्यांक ह्याकरको पहुँचमा पुग्छ र ह्याकरले त्यही युजरनेम र पासवर्ड प्रयोग गरेर सामाजिक सञ्जाल वा कुनै कम्पनीको एडमिनमा प्रवेश गर्छ । त्यसपछि डाटा चोरी, डाटा डिलिट लगायतका काम ह्याकरले गर्ने गरेका छन् । कलाकारको फेसबुक ह्याक प्रकरणमा पनि फिसिङ लिंक प्रयोग गरिएको र कलाकारकै असावधानीका कारण फेसबुक ह्याक भएको प्रहरीले जनाएको छ ।

‘टु फ्याक्टर अथेन्टिफिकेसन प्रयोग गर्नुहोस्’ : प्रहरी

कलाकार लगायत विभिन्न सेलीब्रेटी र उच्चपदस्थ सरकारी कर्मचारीकै फेसबुक ह्याक हुनुमा टु फ्याक्टर अथेन्टिफिकेसन प्रयोगमा नआउनु रहेको साइबर ब्यूरोका प्रवक्ता एसएसपी नविन्द अर्यालले बताए । उनले भने, ‘यो ह्याकिङ प्रकरणमा पनि उहाँहरुकै असावभानी र टु फ्याक्टर अथेन्टिफिकेसन नहुनु नै प्रमुख कारण हो । फेसबुकमा यदि टु फ्याक्टर अथेन्टिफिकेसन अन गरेको भए नयाँ स्थानबाट फेसबुक खोल्दा नोटिफिकेसन आउँथ्यो र त्यसलाई बन्द गर्न सकिन्थ्यो, त्यही नगर्नाले यो समस्या आएको हो । त्यसकारण म सबैलाई टु फ्याक्टर अथेन्टिफिकेसन याक्टिभ गर्न आग्रह गर्छु ।’

पक्राउ परेका किशोरमाथि अहिले अनुसन्धान भइरहेको भन्दै किशोर आँफैले कोडिङ सहितको फिसिङ साइट बनाएर ह्याक गरेका हुन् वा अरु कसैले गर्न लगाएको हो, सो बारे सोधपुछ भइरहेको प्रहरीले जनाएको छ ।
Share on Google Plus

About Chitra Khabar

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment